हरेक दिन, हरेक पल दौडीरहेछ यो दुनियाँ – गुरुरुरु !
‘म’ रुपी खोक्रो आकृति सम्हालेर, होशियार भएर
यो वजनहीन भौतिक बस्तुको वजन थाह नदिनलाई
हरेक प्रयत्न गर्छ,
सजाउँछ पताका अनि ध्वजा टाँसेर!
अनि अभिलाषा राख्छ,
अरु खोक्रा आकृतिहरूको मन बसोस् उसमा !
के थाहा बाँससरी ठडेको त्यो आकारलाई
उसले देखाउने आकांछ्या राखेकाहरुपनि
ऊ जति नै खोक्रा छन् ।
उनीहरु पनि आफ्नै डाँठ सजाउनमा मस्त छन् –
कसलाई होस फुर्सद ? भित्र काठको वजन थप्ने ।
कसलाई होस् समय ? जरा गाडी फेदमा उर्जा भर्ने ।
यही भएर त आकार बढ्दा नुहींन्छ,
हरेक हावाहुरीको पहिलो शिकार हुन्छ ।
आफ्नो जरामा उभिन सक्दैन, अनि भेला पार्छ
आफूजस्तै कमजोरहरु वरिपरी ।
हरेक तामाहरु हेर्छन बाँसलाई, अनि सिको गर्छन
फगत हुरीको शिकार हुन, सानो भूकम्पमा पिटिक्क भाँचीन ।
वरबाट पीपल हेर्छ, एकअर्कालाई तान्न प्रयत्नरत बाँसहरु,
मनमनै मुस्कुराउँछ अनि सुसाउँछ –
यो बाँसहरुको कहिल्यै नसकिने दौड देखेर ।
ऊ एक्लै उभेको छ, हावा हुण्डरीको डरबिना
साना भुकम्प त उसले कैयौं देखिसक्यो ।।
अझैपनि जरा गाड्ने ठाउँ खोज्छ,
काठ थप्ने आकांछ्या राख्छ ।
सिलिक्क परेर माथि जानु छैन उसलाई –
किनकी उसले चिटिक्क देखिने बाँसका
सयौं पुस्ता नियलिसक्यो !
चिटिक्क परेका बाँस पिटिक्क भाचिएँको
कैयौं पल्ट देखिसक्यो …
कैयौं पल्ट देखिसक्यो ।।।