आज दिउँसो हिंडीरहेंथ्ये, उद्देश्यहीन भएर, बराला हुनुको अर्थ बुझ्न – अर्को भाषामा आंफैभित्र नियाल्न । सुरुवात भने बाहिरी हेराईबाट प्रेरित भयो ।
हाँसहरु पानीमा निश्चल रुपमा पौडीरहँदा म नजीक आएको देखेपछि बेजोडसँग उडेको दृश्यले दङ्ग बनायो । बथान निकै माथिसम्म उड्ने रहेछन ।
सधैँ आफुपछाड़ीको झाडीबाट खस्याक-खुसुक हुँदा आफ्नो हिंडाइ तीब्र बनाउने खुट्टाहरुलाई रोकेर, फर्केर हेरें – रंग फेरेर रातो हुन हुन लागेको जुरेलीं नाचिरहेछ ।
जुरेली अनि हांशहरुले सम्झाए – कति चीजलाई फर्किएर हेरिन जीन्दगीभरी, डराएर भागीरहें , ती मीठा रंग अनि बेजोड उडानहरु छुटाएँ ।
झोलामा बोकेको फलफुल थियो । पहिलोपल्ट रोक्दा खाने विचार आयो । हात हाले निकाल्नलाई, झल्यास्स भएँ – फलफुल नभएर हैन, भोकलाई सोध्न बिर्सेको बर्षौ भएको अनुभूति गरेर । बसीसक्दा मनको उकुसमुकुसले अत्याएको असर रहेछ खाने इच्छा । त्यसको दुई मिनटभित्र फोटो खिच्न लागेछु, आफु अगाडिको तालको । खासै विशिष्ट केही थिएन, रहर लागेको पनि हैन, बस स्मृतिलाई सोध्न बिर्सेको बर्षौ भएछ – ‘के यो दृश्य साचै यादगार छ त?’
आज कोशीस गरें हरेक पहिला बिचारलाई प्रश्न तेर्स्याउने – के यो साचिकै चाह हो त? कि फगत मनको छटपटी बिर्साउने तिकडम ?
अनि आफ्नो गतिमा धैरे सुस्त भएँ प्रश्नहरुका बीच । किनकी पुग्न कहीं थिएन । उत्तर आउंदैथियो भित्रबाट – यस क्षणको लागी म बराला, बस् बराला।